


दमौली २६ भदाै । नेपाली कांग्रेस व्यास नगर सभापतिका आकांक्षी हरि खनालले व्यास नगर कांग्रेसलाई गुटरहित, एकताबद्ध, अनुशासित र जनमुखी संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।खनालले आफू कुनै समूह विशेषको नभई व्यास नगर कांग्रेसका सबै क्रियाशील सदस्य, शुभेच्छुक र समर्थकको सभापति बन्ने बताएका छन्।
उनले अग्रजको अनुभव र युवाको ऊर्जालाई जोड्दै युवालाई पार्टीको जिम्मेवारी तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने प्रतिबद्धता जनाएका छन्।उनले व्यासका सबै वडा कार्यसमितिलाई सक्रिय, नियमित र परिणाममुखी बनाउँदै वडा तथा टोल तहसम्म कांग्रेसको संगठनात्मक उपस्थिति बलियो बनाउने बताएका छन्।
निर्वाचनका बेला मात्र कार्यकर्ताको खोजी गर्ने प्रवृत्ति अन्त्य गरी पार्टीका साथीहरूको सुख–दुःखमा साथ दिने र योगदान, क्षमता तथा सक्रियताका आधारमा जिम्मेवारी दिने उनको भनाइ छ।खनालले पार्टीका निर्णय, कार्यक्रम तथा स्रोत–साधनको प्रयोगमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने बताउँदै व्यक्ति नभई विधि र संस्थालाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक, कृषि, युवा तथा सामाजिक समस्यामा निरन्तर जनतासँग जोडिने निर्वाचनमुखी होइन, जनमुखी कांग्रेस निर्माण गर्ने उनको लक्ष्य छ। स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्दै आवश्यक ठाउँमा पार्टी र जनताको हितमा रचनात्मक खबरदारी गर्ने उनले बताएका छन्।कांग्रेसको राष्ट्रियता, लोकतन्त्र, समाजवाद, मानव अधिकार र सामाजिक न्यायका विचारलाई जनस्तरसम्म पुर्याउँदै पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने, साथै महिला, दलित, आदिवासी–जनजाति, अल्पसंख्यक, युवा, विद्यार्थी, व्यवसायी, श्रमिकलगायत विभिन्न क्षेत्रका कांग्रेस समर्थकलाई संगठनमा उचित स्थान र जिम्मेवारी दिने खनालको प्रतिबद्धता छ।
उनले व्यास नगर कांग्रेसलाई वैचारिक, अनुशासित, एकताबद्ध, प्रविधिमैत्री, जनउत्तरदायी र निर्वाचनमा विजयी संगठनका रूपमा स्थापित गर्ने स्पष्ट लक्ष्य रहेको बताएका छन्।