


काठमाडाै २९ भदाै । त्रिशूली तथा आसपासका बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार भदौ २९ गते साँझ ५ बजेसम्म हवाई साधनमार्फत आज मात्रै २० जनाको उद्धार गरिएको छ। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोज, उद्धार र राहतका कामलाई निरन्तरता दिएको जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित जलविद्युत् आयोजनाका टनेलमा समेत खोज तथा उद्धार कार्य जारी छ। रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि र विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
लाङ्टाङ जलविद्युत् आयोजनाको टनेलभित्र विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत खोजी गरे पनि हालसम्म केही फेला परेको छैन। चिलिमे हाइड्रोमा एक्स्काभेटर र लोडर प्रयोग गरी करिब १०० मिटर मलबा हटाइएको छ। टनेलभित्र जमेको पानी हटाउने काम जारी रहँदा उद्धार टोलीले डोरीको सहायताले टनेलभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। खोला वारपारका लागि तुइनसमेत जडान गरिएको छ।
यसैगरी माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिको टोलीले खोजी गरिरहेको छ भने त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोली परिचालन गरिएको छ। त्रिशूली–३ ‘बी’ मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा टनेल क्षेत्रमा खोजी गरिरहेको छ।
रसुवा र नुवाकोटका त्रिशूलीपारिका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेसी क्षेत्रमा तीन समूह परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।
नेपाली सेनाले टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म ८ हजार ९ सयभन्दा बढी फौज परिचालन गरेको जनाएको छ। परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समेत सहयोग गरिरहेको छ।
यसैबीच नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट सोमबार ३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ७८४ जना लाभान्वित भइसकेका छन्।
बाढीका कारण क्षति पुगेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ–३, शीतल बजार क्षेत्रमा सडक खुलाउने कामसमेत जारी छ। सडक भासिएपछि अवरुद्ध भएको मार्ग सञ्चालनमा ल्याउन भित्तातर्फको कडा चट्टान फुटाउने ब्लास्टिङ कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।
सेनाले प्रभावित क्षेत्रमा उद्धारसँगै राहत, स्वास्थ्य सेवा तथा सडक र पुल सञ्चालनका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।