


तनहुँ, ३१ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार राति करिब ११ बजे आफ्नै डेराको कोठामा अचानक करेन्ट लागेर अचेत भएका शुक्लागण्डकी–९ घारी स्थायी घर भई दुलेगौडामा बस्दै आएका ४५ वर्षीय खड्कबहादुर गौतमलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा लगिएको थियो। चिकित्सकले राति ११ः२२ बजे उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
घटनापछि कानुनी प्रक्रिया पूरा गरी गौतमको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।
करेन्ट लागेका गौतमलाई छुट्याउने क्रममा शुक्लागण्डकी–४ दुलेगौडा निवासी ६५ वर्षीय डिलबहादुर सार्कीलाई समेत करेन्ट लागेको थियो। उनको उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ।
यस्तै, मृतककी ४१ वर्षीया श्रीमती पार्वती गौतमलाई पनि करेन्ट लागेको थियो। उनको दाहिने हातको बुढी औँलामा चोट लागेको थियो। सुरुमा जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा उपचार गरिएपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएकोमा हाल डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।