


तनहुँ, ८ कात्तिक नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले काङ्ग्रेसमा व्यापक एकता कायम भएको उल्लेख गर्दै बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले काङ्ग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए ।
“बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” उनले भने, “काङ्ग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।” महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । काङ्ग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो ।
सरकारको स्थिरताबारे बोल्दै पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए । सरकारको स्थिरताका पक्षमा काङ्ग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने काङ्ग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई टिकट दिने प्रणालीमा परिवर्तन गर्ने प्रयास भइरहेको जानकारी दिए । पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा काङ्ग्रेसले काम गरिरहेको उनको भनाइ थियो । महामन्त्री पौडेलले पार्टीभित्र सहमति, सहकार्य र एकतालाई बलियो बनाउँदै जनताको विश्वास पुनः हासिल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य धु्रव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्त लगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए ।