


तनहुँ, २२ कात्तिक । तनहुँ प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा सवारीसाधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा ४४.२ ग्राम खैरो हेरोइनसहित २७ वर्षीय पुरुष पक्राउ परेका हुन्।
प्रहरीका अनुसार चितवनबाट पोखरातर्फ आउँदै गरेको हाइसमा सवार म्याग्दीको रघुगंगा गाउँपालिका, छिपाईका ती पुरुषलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।