तनहुँका दुई गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुई गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८३, सोमबार

    तनहुँ, २३ कात्तिक । हिन्दु धर्म, संस्कृति र परम्परामा गाईलाई माता तथा लक्ष्मीको प्रतीकका रूपमा पूजाआजा गर्ने प्रचलनअनुसार गाईपूजाको अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौसंरक्षण केन्द्र र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईपूजा गरिएको हो । गाईपूजाका अवसरमा गौसंरक्षण केन्द्रमा रहेका गाईहरूलाई माला लगाइदिने, टीका तथा पूजा गर्ने र मिठा परिकार खुवाएर सम्मान प्रकट गरिएको थियो ।

    शुक्लागण्डकी नगरपालिका–९ मा मुक्तिनाथ च्यवनधामको व्यवस्थापनमा गौसंरक्षण केन्द्र सञ्चालनमा रहेको छ । उक्त केन्द्रमा गाईपूजाको अवसरमा सामूहिक पूजा गरिएको मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए ।

    छाडा रूपमा छोडिएका तथा सडकमा अलपत्र अवस्थामा रहेका गाईहरूको संरक्षण, हेरचाह र व्यवस्थापन गर्ने उद्धेश्यले गौसंरक्षण केन्द्र स्थापना गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । धार्मिक आस्थासँगै गाईको संरक्षण र व्यवस्थापनलाई जोड दिँदै केन्द्रले काम गर्दै आएको छ ।

    त्यस्तै, व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा पनि गाईपूजाको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त केन्द्रमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गाईपूजा गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    गौसंरक्षण केन्द्रका अध्यक्ष तुल्सीराम सापकोटाका अनुसार गाईपूजाको अवसरमा केन्द्रमा रहेका गाईहरूको सामूहिक पूजाआजा गरिएको हो ।

    हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्परा छ । तिहारअन्तर्गत गाईपूजाका दिन गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने, माला लगाइदिने, मीठा परिकार खुवाउने र श्रद्धा व्यक्त गर्ने चलन रहेको छ ।