


काठमाडौ, २४ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्ह पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।
उनले नेवार समुदायमा विशेष महत्वका साथ मनाइने म्ह पूजाले आत्मशुद्धि, आत्मबल र चेतनाको बोध गराउनुका साथै आपसी सद्भाव, जातीय एकता र पुर्ख्यौली संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
त्यसैगरी, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाका अवसरमा कृषिकर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराको महत्व पनि उनले स्मरण गरेका छन्।
प्रधानमन्त्री शाहले देउसी–भैलोले छरछिमेकमा आत्मीयता, सद्भाव र सामाजिक एकता बढाउने उल्लेख गर्दै मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।