जिफानको भवन निर्माणका लागि देउसी भैलोबाट जुट्यो साढे दुई लाखभन्दा बढी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिफानको भवन निर्माणका लागि देउसी भैलोबाट जुट्यो साढे दुई लाखभन्दा बढी सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८३, सोमबार

    तनहुँ, ३० कात्तिक । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को बहुउद्देश्यीय भवन निर्माणका लागि दमौलीमा आयोजित देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रमबाट दुई लाख ५० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।

    नेपालीहरूको महान् पर्व शुभदीपावलीको अवसरमा जिफानले दमौलीस्थित अनसन चौतारी परिसरमा आयोजना गरेको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व प्रदेश सांसद सरिता गुरुङले मन्तव्य राखेका थिए ।

    उनीहरूले गुरुङ चलचित्र, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जिफानले खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थाको आफ्नै बहुउद्देश्यीय भवन निर्माण अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, व्यास तमु सुधार समाज, तमु सेवा समाज, विभिन्न आमा समूह तथा सामाजिक र सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी संघसंस्था, समाजसेवी, व्यवसायी तथा विशिष्ट व्यक्तिहरूले भवन निर्माण अभियानप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोगसमेत प्रदान गरेका थिए।

    जिफानले कार्यक्रममा उपस्थित अतिथि, संघसंस्थाका प्रतिनिधि, कलाकार, सहयोगदाता, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

    संस्थाको आफ्नै बहुउद्देश्यीय भवन निर्माण गर्ने लक्ष्यलाई साकार पार्न प्राप्त सहयोगले थप ऊर्जा र उत्साह प्रदान गरेको जिफानका महासचिव गल गुरुङले बताए ।