


मकवानपुर, ३ मङ्सिर । मकवानपुरको भीमफेदी गाउँपालिका –०१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका हुन् । अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।