एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री शाहको बधाई, आठवटै क्लबका आफ्नै रंगशाला बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री शाहको बधाई, आठवटै क्लबका आफ्नै रंगशाला बन्ने

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८३, शनिबार

    काठमाडौं, ५ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (NPL) को विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिएका छन्।

    प्रधानमन्त्री शाहले NPL को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका छन्।

    उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइनेछ।

    प्रस्तावित योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ।

    त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई घरेलु मैदानका रूपमा विकास गर्ने योजना रहेको छ।

    क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

    आठवटै क्लबका आफ्नै रंगशाला निर्माण भएपछि NPL होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।