इस्टुको तनहुँमा विराेध प्रर्दशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इस्टुको तनहुँमा विराेध प्रर्दशन

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : कोरोना भाइरसको असर सबै क्षेत्र र सेवालाई उत्तिकै छ । लकडाउनको बेला ‘लक’ भएर बस्नुपर्यो । लकडाउन खुलेपनि कोरोना पहिलाको जस्तै सामान्य बन्न सकेको छैन कुनै पनि क्षेत्र र सेवा ।

    कोरोनाको प्रभावले थलिएको छ शैक्षिक क्षेत्र । कोरोनाको जोखिम बढेपछि चैत पहिलो सातादेखि झण्डै सात महिना बन्द भएका तनहुँका सामुदायिक र संस्थागत विद्यालय यो महिनादेखि खुले । खुलेका संस्थागत विद्यालयमा पढाउने शिक्षक कर्मचारीको मन भने खुल्न सकेकाे छैन ।

    गत चैतदेखि नै उनीहरुले पारिश्रमिक पाएका छैनन् । झट्टै पाउन छाँट पनि छैन । आफूहरुकाे योगदानको कदर गर्दै विद्यालय सञ्चालकले पारिश्रमिक नदिएपछि स्थानीय सरकारलाई गुहार्दै संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) तनहुँले आइतबार विरोध प्रर्दशन गरेको छ ।

    सडक प्रर्दशनसँगै उनीहरुले शुक्लागण्डकी नगरपालिकामा पुगेर विरोध प्रर्दशन गरेका हुन् । आफ्ना माग विद्यालय सञ्चालकले पूरा नगरेको र स्थानीय सरकारले पनि चासो नदिएकाले विराेधमा उत्रनु परेको इस्टु तनहुँका अध्यक्ष अमृत शाहीले बताउनुभयाे । गत वर्षको चैतसम्मको तलब विद्यालयले ७ दिन भित्र अनिवार्य दिनुपर्ने माग रहेको उहाँले जानकारी दिनुभयाे ।

    विरोध प्रर्दशनपछि भएको कार्यक्रममा बोल्दै शाहीले कात्तिक पहिलो सातासम्मको तलब र चाडपर्व खर्च अनिवार्य भुक्तानी हुनुपर्ने माग राख्नुभयाे । “नसक्ने विद्यालयको हकमा सरकारले दिनुपर्छ । शिक्षक कर्मचारीको उचित व्यवस्थापन गरी विद्यालय समायोजन गरियोस्,” उहाँले भन्नुभयाे । निष्कासन गरिएका शिक्षक कर्मचारीको पुर्नवाहली गरी तलब भुक्तान गर्नुपर्ने, स्थानीय सरकारले संस्थागत विद्यालय र त्यहाँ कार्यरत शिक्षक कर्मचारीको लगत राख्नुपर्ने, संस्थागत विद्यालयको अनुगमन र नियमन गर्नुपर्ने इष्टुको माग छ । यसअगाडी पनि तलब दिलाउन पहल गरिदिन माग गर्दै जिल्लाका स्थानीय तहको ध्यानाकर्षण गराइएकाे थियाे ।