शुक्लागण्डकीमा विकास योजना निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    शुक्लागण्डकीमा विकास योजना निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षका योजना निर्माण शुरु गरेको छ । कोभिड–१९ को प्रभावका कारण विकास आयोजना प्रभावित भएको बेला नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८मा सञ्चालन गर्ने योजना निर्माण शुरु गरेको हो ।

    सोही बमोजिम शुक्लागण्डकी नगरपालिका–१२ ले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनामध्ये ८० प्रतिशत योजनाकाे सम्झाैता दशैं अगाडी नै सम्पन्न गर्ने तयारी गरेको छ । अधिकांश योजनाहरुको स्टमेट भइसकेको र अन्य योजना मूल्याङ्कनको क्रममा रहेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार वडामा खानेपानी, कृषि, पर्यटन, सडक लगायतका करीब साढे चार करोड रकम बराबरका विकास योजना सञ्चालन हुनेछ । “दशै अगाडी ८० प्रतिशत योजना सम्पन्न हुन्छन्, धेरैजसो योजनाको स्टमेट भइसकेको छ,” उहाँले भन्नुभयो, “कतिपय योजना निर्माण शुरु भइसकेका छन् ।”

    ठूला योजना टेण्डर मार्फत् र साना योजना उपभोक्ता समिति मार्फत् सञ्चालन गर्न नगरपालिकाले कार्यविधि बनाएको छ । रु २५ लाख भन्दा माथिका योजना टेण्डर र सोभन्दा कम मूल्यका योजना उपभोक्ता समिति मार्फत् सञ्चालन गरिने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    वडाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पैदलमार्ग र मोटरमार्गको ट्रयाक खन्ने कार्य शुरु गरेको छ । प्युरीदोभान गाउँ जानका लागि तीन सय मिटर पैदलमार्ग निर्माण भइरहेको छ । वडाध्यक्ष गुरुङका अनुसार पैदलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रु तीन लाखको लागतमा पैदलमार्ग निर्माण गरिएको छ ।

    वडाध्यक्ष गुरुङका अनुसार प्युरीदोभानबाट लामा गाउँ जाने मोटरमार्गको ट्रयाक खन्ने काम पनि शुरु भएको छ । रु २० लाखको लागतमा पाँच किलोमिटर ट्रयाक खोल्न शुरु गरिएको छ ।

    त्यसैगरी जसपुर मोटरमार्गमा पनि ट्रयाक खोल्न शुरु गरिएको छ । चार किलोमिटर ट्रयाक खोल्नका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । उपभोक्ता समिति मार्फत् काम भइरहेको र दशै अगाडी नै काम सम्पन्न गरी भुक्तानी दिने तयारी भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    वडा कार्यालयले फिरफिरे प्रवेश गर्ने मुख्य बाटोमा प्रवेशद्वार निर्माण शुरु गर्न लागेको छ । प्रवेशद्वार निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । फिरफिरे रातमाटा गाउँलाई बाख्राको पकेट गाउँ बनाउने उद्देश्य सहित कृषकहरु बाख्रा खोर निर्माण गर्न जुटेका छन् । बाख्राको पकेट गाउँ कार्यक्रमका लागि वडा कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको छ । “दशै अगाडी सम्पन्न हुने अधिकांश योजना पनि सम्झौता लगत्तै निर्माण शुरु गरिनेछ,” वडाध्यक्ष गुरुङले भन्नुभयो ।