तनहुँ : एक महिना अगाडी दमौलीस्थित बुल्दीखोला पुलबाट खसेर धादिङका ३० वर्षीय दिनेश थापा घाइते हुनुभयो । दमौलीमा मजदुरी गर्ने उहाँ कोठातर्फ जाँदै गर्दा पुलमा रेलिङ भाँचिएको ठाउँबाट उहाँ खस्नुभएको थियो । पुलबाट खसेर उहाँको खुट्टा भाँचियो । दमौली अस्पतालमा केही दिन उपचार पश्चात् उहाँलाई थप उपचारका लागि अन्यत्रै पठाइयो ।
त्यस लगत्तै बुल्दी पुलको रेलिङ मर्मतका लागि सञ्चारमाध्यमले पनि सरोकारवालाई ध्यानाकर्षण गराए । सडक डिभिजन कार्यालय दमौलीले पुल मर्मतका लागि निर्माण व्यवसायीसँग सम्झौता पनि ग¥यो, तर निर्माण व्यवसायीले काम गरिदिएनन् ।
सोही पुलबाट बुधबार साँझ फेरि एक जना खसेर घाइते हुनुभएको छ । उदयपुर कटहरीका ३७ वर्षीय प्रेमबहादुर रोका पुलबाट खसेर घाइते हुनुभएको हो । साँझको समयमा हिँड्दै जाँदा पुलबाट खसेर घाइते हुनुभएका उहाँको टाउकोमा चोट लागेको छ । उहाँलाई प्रहरीले तत्कालै उद्धार गरेर दमौली अस्पताल ल्याएको थियो । हाल उहाँको अस्पतालमा उपचार भइरहेको छ ।
“बागलुङबाट घर जानका लागि आएको थिएँ, दमौलीमा झरेर खाजा खाए, पैसा नभएपछि अब हिँडेरै जान्छु भनेर हिँड्दै थिएँ, पुलमा पुगेपछि रेलिङ भाँचिएको ठाउँबाट खसेछु,” अस्पतालमा उपचाररत रोकाले भन्नुभयो । पछाडि पछाडि अरु दुई जना व्यक्तिहरु रहेको र पुलमा पुगेपछि कसैले धकेलिदिएको जस्तो लागेको रोकाले बताउनुभयो । प्रहरीले भने अत्याधिक मादक पदार्थ सेवन गरेकोे हुनाले पुलबाट खसेको हुन सक्ने बताएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले निर्माण व्यवसायीले काम नगरिदिएका कारण पुलको मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । उहाँका अनुसार इन्द्रपुरी कन्स्ट्रक्सनले पुल मर्मतको ठेक्का पाएको थियो । तर निर्माण व्यवसायीले काम नगरेका कारण अब कार्यालयले नै पुलको मर्मत गर्ने तयारी गरेको छ ।
“निर्माण व्यवसायीलाई जिम्मा दिइसकेको हुनाले हामीले काम गर्न पनि मिलेन, तर अब उसले काम नगर्ने भएपछि कार्यालय आफैले मर्मत गर्ने तयारी गरेको छ,” श्रेष्ठले भन्नुभयो, “एक दुई दिनमा नै पुल मर्मतको काम हुन्छ ।”
भिडियाे : voice of Tanahun