तनहुँ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी बापत रु १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगार (म्यादी) बीमा अन्तर्गत रु १४ लाख राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य तथा व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई शनिबार हस्तान्तरण गर्नुभयो । गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित कृष्ण पन्थको कतारमा निधन भएको थियो ।
चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सदस्य पन्थले बीमा गर्दा जस्तो सजिलो हुन्छ दावी भुक्तानीमा पनि सोही अनुरुप बिना झण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिनुभयो । जोखिम बहन र बचतको भरपर्दो माध्यम जीवन बीमा भएकाले आफ्नो आयश्रोत अनुसार बीमा गर्नुपर्ने पन्थले बताउनुभयो ।
वडाध्यष दरैले बीमितको निधन पछि परिवारमा हुने आर्थिक विचलनलाई कम गर्न पनि जीवन बीमा आवश्यक रहेको बताउनुभयो । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले जीवन बीमा अहिलेको पस्थितिमा अपरिहार्य भएको बताउँदै कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै व्यावसायिक सफलता प्राप्त गरेको बताउनुभयो ।
बीमित पन्थको मृत्यु दावी भुक्तानी अन्तर्गत शव ल्याउँदा रु एक लाख, किरिया खर्च बापत रु एक लाख, आय नोक्सानी बापत रु दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल रु १४ लाख बराबरको चेक रकम मृतकका बुबा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।