


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षले मतदान गरेर जिताउने निर्णय गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताउनुभयो ।
आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला नगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिवद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताउनुभयो । कार्यक्रमका सहभागिहरुले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई विजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वातावरण बनाउन पनि प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरुको भनाइ छ ।
प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर शाहले बताउनुभयो ।
काठमाडौं उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।
समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफूप्रति साना तथा मझौलासहित ठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफू जिल्ला नगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो । आफू जिल्ला नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहल कदमी लिन आफुले मात्र सक्ने उनको भनाइ थियो ।