प्रोफर क्रसरबाट तीन सवारी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रोफर क्रसरबाट तीन सवारी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौँडा : गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको अनुगमन गरिरहेको छ । शुक्लागण्डकी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको शुक्रबार र आईतबार दुई दिन लगाएर अनुगमन गरियो । यहाँ १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेपनि यसअगाडी जिल्ला समन्वय समितिले ४ वटालाई अवैध भन्दै बन्द गराउन नगरपालिकालाई निर्देशन दिएको थियो । त्यसैले अनुगमन टोलीले ८ वटा क्रसरको मात्रै अनुगमन गर्ने सुची बनाएर आईतबार दिउँसो शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा सञ्चालित थापा क्रसर उद्योगको अनुगमन गर्दै थियो ।

    थापाको ठ्याक्कै पारिपट्टी शुक्लागण्डकी –५ झरौटास्थित सेती नदी किनारमा प्रोफर कन्सट्रक्सन एण्ड क्रसर इण्डष्ट्रिज सञ्चालानमा छ । प्रोफर यस अगावै बन्द गराउन निर्देशन दिईएको ४ क्रसरमध्येको एक हो । तसर्थ अनुगमनको सुचीमा अटाएको थिएन् ।


    अनुगमन टोली पनि प्रोफर बन्द होला भनेर ढुक्कै थियो । तर, थापा अनुगमन गर्दैै गर्दा बन्द छ भनिएको प्रोफर खुलेआम सञ्चालान भएको देखेपछि अनुगमन टोलीको नेतृत्व गरेका तनहुँका साहयक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तत्काल त्यहाँ प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिनुभयाे ।

    निर्देशन पाएपछि खटिएको ईलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले ३ वटा सवारी नियन्त्रणमा लिएको छ । २ वटा टिपर र १ वटा लोडर नियन्त्रणमा लिएर शुक्लागण्डकी नगरपालिकालाई बुझाएको कार्यालयका प्रमुख प्रहरी निरिक्षक जगदीश रेग्मीले बताउनुभयाे । ती सवारीलाई नगरपालिकाले कारबाही गर्ने उहाँको भनाई छ । ‘हामीले नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएका छौँ । कारबाहीको अधिकार हामीसंग छैन्’, उहाँले भन्नुभयाे ।


    नियन्त्रणमा लिइएको सवारी शुक्लागण्डकी नगरपालिका परिसरमा राखिएको छ । प्रशासनको पत्र काटेपछि मात्र नियन्त्रणमा लिईएका सवारीलाई छाड्ने नगरपालिका स्रोतले जनाएको छ ।