तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उहाँकै गाउँमा निर्माण शुरु भएको पुलको उद्घाटनका लागि निम्तो दिनुभएको छ । शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद श्रेष्ठले नेकपा नेतृत्वको सरकारले रिस्तीमा दुई वटा पुल निर्माण शुरु गरिसकेकाले पुल निर्माण सम्पन्न भएपछि उक्त पुलको उद्घाटनका लागि निम्तो दिनुभएको हो । “उद्घाटन गर्न मन लागेको भए आफ्नै गाउँमा आउनुस्, दुई वटा पुल बन्दैछ,” उहाँले भन्नुभयो ।
प्रदीप पौडेललाई चुनौति : सम्पत्ति छानबिन गरौ
सांसद श्रेष्ठले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार दिएको अभिव्यक्तिको खण्डन गर्दै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताउनुभयो । “मेरो सबै परिवार पहिल्यैदेखि व्यापार व्यवसायमा छ, मेरो पनि थुप्रै व्यवसाय छ,” उहाँले भन्नुभयो, “अवैध सम्पत्ति भेटिए राष्ट्रियकरण गर्न तयार छु ।”
टोखामा रहेको पौडेलको घर र गाडीको स्रोत के हो भन्दै सांसद श्रेष्ठले पौडेललाई आफ्नो स्रोत देखाउन चुनौति दिनुभयो । “व्यापार व्यवसाय नभएको व्यक्तिको घर र कार कहाँबाट आयो ? देखाउन चुनौति छ,” उहाँले भन्नुभयो ।