आँबुखैरेनी-दमाैली सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी-दमाैली सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, सोमबार

    तनहुँ : मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । तनहुँकाे आँबुखैरेनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो ।

    ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय -एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिनुभयाे ।

    दमौली-पोखरामा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक -एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ । मुग्लिन आँबुखैरेनी खण्डको भने अहिले पनि  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ ।

    यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ ।

    करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।

    यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ । बुटवल-नारायणगढ सडक खण्डमा पनि रुख काट्ने र पोल सार्ने लगायतका पूर्वतयारीका काम ठेक्काभित्रै समेट्दा सम्झौता भएको ९ महिनासम्म काम सुरु हुन सकेको छैन ।

    आँबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोमिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गरिँदैछ, करिब ६ महिनामा यो काम सकिने अनुमान विभागको छ । यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ । करिब ३ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो ।

    यस्तो बन्नेछ सडक

    विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७-७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । ‘मिडियन’ मा गि्रनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर -अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।

    सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना बनेको छ । सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडीबीको सहयोगमा नै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो ।

    यो सडकको आँबुखैरहनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने नयाँ ढंगले विस्तार गरिँदैछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको ठहर गर्दै आयोजनाको टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टबिाट अर्को दुई लेनको सडक बनाउन लागिएको छ । आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयले जनाएको छ ।

    वारिपट्टकिो हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ ।

    यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।

    विस्तार हुने सडकमा सुरक्षा फिचर्स चेतावनी लाइट सिस्टम पनि जडान हुने एसियाली विकास बैंकले जानकारी दिएको छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि छुट्टै पूर्वाधार बनाइने बैंकले बताएको छ ।

    मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम सन् २०२५ सम्म सक्ने लक्ष्य लिइएको छ । यो खण्डका लागि सरकारले करिब ५ अर्ब रकम आफ्नै स्रोतबाट पनि खर्च गर्नेछ ।

    हाल काठमाडौं-पोखराको दूरी करिब २ सय किलोमिटर छ । यो खण्ड साँघुरो हुँदा दैनिक गुड्ने मालबाहक र तथा यात्रुबाहक सवारीलाई कठिनाइ छ ।

    यो सडकमा दैनिक करिब ८ हजार सवारी गुड्ने गरेका छन् । यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो । सडक ४ लेनको भएपछि भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।

    सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्ने अपेक्षा छ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुने आयोजनाले जनाएको छ । यसले देशको यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने सरकारको भनाइ छ ।

    यो सडक विस्तारपछि नेपालको आर्थिक गतिविधि पनि बढ्ने दाबी एसियाली विकास बैंकको छ । यसले सडकको ट्राफिक क्षमता बढ्ने मात्रै नभई विश्वसनीय र सुरिक्षत सडकबाट पोखरा र काठमाडौंलाई जोड्ने बैंकले जनाउँदै आएको छ ।

    (अनलाइन खबरबाट)