दमौलीमा विशेष बहस कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा विशेष बहस कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, सोमबार

    तनहुँ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दमौलीमा सोमबार विशेष बहस कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तीकरण सञ्चार समाज तनहुँको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा अभियानको १३ औं दिनको अवसरमा बहस कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले लैङ्गिकताका आधारमा हिंसा सहेका लक्षित वर्गका लागि गरेका कार्य र भावी योजनामा सहकार्य समन्वयको अवस्था, जिल्ला समन्वय समिति उपप्रमुख पवित्र पौडेलले समन्वय समितले लैङ्गिकताका आधारमा हिंसा व्यहोरेका वर्गलाई गर्न सक्ने कार्य, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले न्यायिक समितिको संयोजकको हैसियतले आफ्नो अधिकार क्षेत्रमा रही नगरप्रमुखसँगको सहकार्य र समन्वयको अवस्था, गरेका कार्य र पारित गरेका नियमहरुको विषयमा बहस तथा टिप्पणी व्यक्त गर्नुभएको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्लाको सम्पूर्ण क्षेत्रका लैङिग्क हिंसा पीडितहरुका लागि प्रशासनले गर्न सक्ने कार्यहरु विवरण तथा अवस्था, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले लैङ्गिक हिंसा पीडितका दर्ता, जाहेरीको समसमायिक अवस्था तथा परिस्थतिजन्य वातावरण, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धमा गरेका कामहरुको अवस्था र कार्यान्वयन पाटोको विवरण, व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले लिङ्गका आधारमा राज्यले व्यवस्था गरेको शैक्षिक अवस्थाका विषयमा भनाइहरु प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अधिवक्ता सरिता भण्डारीले संविधानमा लैङ्गिक अधिकार तथा हिंसा पीडित वर्गले तत्काल पाउने नीतिगत सहुलियत, मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष शान्ता खनालले हिंसाका घटनामा पुर्नस्थापनाको अवस्था र अल्पकालिन आश्रय घरको भूमिका र व्यास नगरपालिका वार्ड सदस्य चन्द्रमाया परियारले महिलाभित्र पनि दलित महिलाहरुको अवस्था तथा समस्यहरुको बारेमा टिप्पणी गर्नुभएको थियो ।

    नगरप्रमुख न्यौपानेले १६ दिनमात्र नभाई ३६५ दिन नै लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।