धादिङ : धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार महिलाले तीन छोरीलाई जन्म दिनुभएकाे हाे ।
धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको छ।
अस्पतालले सयौं जनालाई प्रसूति सेवा दिइसकेको भएपनि शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयाे। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ।