सामुदायिक वनमा पोखरी बनाउन अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामुदायिक वनमा पोखरी बनाउन अनुदान

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, मंगलवार

    तनहुँ : डिभिजन वन कार्यालय तनहुँले सामुदायिक वनमा पोखरी बनाउन अनुदान दिने भएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियान अन्तर्गत जङ्गलमा पोखरी निर्माणका लागि अनुदानको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले भानु, देवघाट, बन्दीपुर लगायतका सामुदायिक वनमा पोखरी निर्माण गर्न लागेको सहायक वन अधिकृत पण्डितले जानकारी दिनुभयो । वन क्षेत्रभित्र पोखरी निर्माणका लागि कार्यालयले रु एक लाख अनुदानको व्यवस्था गरेको छ । “वनजङ्गलमा पानीको स्रोत नभएका कारण चितुवा बस्तीमा पसेको अनुसन्धानबाट खुलेकाले चितुवाका लागि जङ्गलमै पानीको स्रोत बनाउनुपर्ने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो, “त्यसका लागि पोखरी निर्माणलाई जोड दिएका हौ ।” कोषमा रकम भएका कतिपय सामुदायिक वनले भने आफैले खर्च गरेर पोखरी निर्माणको प्रतिबद्धता जनाएका छन् ।

    कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जिल्लाका पन्ध्र ठाउँमा सचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ । चितुवाको बढी आतङ्क रहेको स्थानीय तहमा कार्यालयले यसबाट बच्न सक्ने उपायबारे जानकारी दिने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यालयले चालु आर्थिक वर्षमा पन्ध्र ठाउँमा यस्ता कार्यक्रम गर्ने लक्ष्य राखेकामा सबैठाउँमा कार्यक्रम सम्पन्न भएको सहायक वन अधिकृत पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारमात्रै भानु नगरपालिकाका दुई ठाउँमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकामा पनि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको पण्डितले बताउनुभयो । यसअगाडी कार्यालयले शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक वनका उपभोक्तालाई यसबारे जानकारी गराएको थियो ।

    जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई जानकारी गराएका छौ,” उहाँले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

    वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भएपनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उहाँले बताउनुभयो ।