दमाैली, १० असार ।तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब ७५ करोड ८४ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज आयोजित ४३ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
सो रकममध्ये चालु तर्फ रु ९८ करोड २० लाख सात हजार चार सय र पुँजीगतगतर्फ रु ७७ करोड ६४ लाख ११ हजार छ सय रहेको छ । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलब ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको उपप्रमुख दरैले जानकारी दिइन् ।
आजै नगरप्रमुख वैकुण्ठ न्यौपानेले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । सो नीति तथा कार्यक्रम उपर नगरसभाका सदस्यहरु गौकुमारी न्यौपाने, जगतबहादुर क्षेत्री, हरिशचन्द्र पन्थ, सरोज भण्डारी, रनसिंह नेपाली, सुन्दर वाग्ले, ढालप्रसाद घिमिरे, यज्ञ शर्मा, दुर्गा आले, जीवन गुरुङले सुझाव राखेका थिए ।
सभामा विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले व्यास नगरपालिकाका केही ऐन संशोधन गर्ने विधेयक २०८२ प्रस्ताव पेश गरेका थिए । व्यास नगरपालिकाको अर्को बैठक आगामी असार २४ गते बस्नेछ ।