तनहुँ : गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कर्तव्यबाट विमुख नभई सेवा प्रवाहमा कटिबद्ध हुन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको आइतबार निरीक्षण पश्चात् प्रहरीलाई सम्बोधन गर्दै अर्यालले प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानमा कटिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो ।
जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको लागि अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरीको गौरवमय इतिहास रहेको उहाँको भनाई थियो । साथै सङ्गठनले अङ्गिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामूलक प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, कोरोना भाईरसन नियन्त्रणका लागि भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।