वडा कार्यालय भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडा कार्यालय भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-२ को नयाँ प्रशासनिक भवनको मंगलबार शिलान्यास गरिएको छ । एक तलाको ५ कोठे पक्की भवनको नगरप्रमुख किसान गुरुङ र प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले शिलान्यास गर्नुभएको हो ।

    नगरप्रमुख गुरुङले समयमै गुणस्तरीय भवन निर्माण गरी वडालाई हस्तानतरण गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभयो । उहाँले यो वर्ष तीन वटा वडामा  नयाँ भवन बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । २,५ र ७ नम्बर वडा कार्यालयको यसपाली भवन बन्नेछ ।

    ५ नम्बर वडाले पनि पुरानो वडा कार्यालयको भवनबाट सेवा दिईरहेको छ भने ७ नम्बर ले महिला सहकारीको भवनबाट सेवा दिइरहेकाे छ । १२ वडा रहेका यहाँ अन्य वडा भने आफ्नै भवनबाट सेवा दिईरहेका छन् ।

    प्रमुख प्रशासकीय अधिकृत सुवेदीले ठेक्का लिने तर समयमा काम नसक्ने प्रवृत्ति व्यापक रहेकाले समयमै काम सक्नुपर्नेमा जोड दिनुभयो । हाल यो वडाले पञ्चायत बेलामा बनेको वडा कार्यालय भवनबाट सेवा दिईरहेको छ । बीचमा जनप्रतिनिधि नभएको समयमा उक्त भवन यहाँको कोत्रे जुवादी खानेपानी र राईपुर सामुदायिक वनले प्रयोग गरेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताउनुभयो । युवा क्लबले पनि यही भवन प्रयोग गर्दछ । नयाँ भवन ठडिएपछि पुरानो भवनलाई खानेपानी र वनलाई प्रयोग गर्न दिने उनले उल्लेख गर्नुभयो ।

    शिलान्यास गरिएको वडा कार्यालय भवन निर्माणको ठेक्का नाईसा कन्सट्रक्सनले पाएको छ । ४५ लाख २३ हजार ८ सय ५२ रुपैयाँमा सम्झौता भएको नगरपालिकाले जनाएको छ । ६७ लाख रुपैयाँको टेन्डर आह्वान गरिएकोमा ३३ प्रतिशत कम रकममा ठेक्का परेको हो । अन्य दुई वडाको ठेक्का पनि नाईसाले नै पारेको छ । तीन वटै वडा कार्यालयको भवन निर्माणका लागी नगरले ४० लाख रुपैयाँको दरले बजेट छुट्याएको छ ।