तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७/७८मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत म्याग्दे गाउँपालिका–४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले सुरक्षा सामग्री अन्तर्गत हेल्मेट, एप्रोन र लाभग्राही परिचयपत्र वितरण गर्नुभएको छ ।
रोजगार कार्यक्रम मार्फत् उक्त वडाका ९ जनाले रोजगारी पाएका छन् । बेरोजगार सूचीमा सूचीकृत भएकाहरुलाई डडुवा गाउँको पैदलमार्ग मर्मतमा खटाइएको गाउँपालिकाका रोजगार संयोजक पविन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उक्त वडामा बेरोजगार सूचीमा ९९ जना सूचीकृत भएपनि प्राथमिकताका आधारमा ९ जनालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने शाहीले जानकारी दिनुभयो ।
सात वटा वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४ सय ४४ जना सूचीकृत भएका छन् । त्यसमध्ये चालु आर्थिक वर्षमा एक सय ५४ जनाले एक सय दिनको रोजगारी पाउनेछन् । उनीहरुलाई दैनिक रु ५ सय १७ ज्याला उपलब्ध गराइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालु आर्थिक वर्षमा रु ८० लाख बजेट प्राप्त भएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माण लगायतका काम गरिएका थिए ।
रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् ।
कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए ।