तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ रासीभञ्ज्याङमा सम्पन्न भएको आमा समूहको भवन, खानेपानी योजना र मोटरमार्गको एकैसाथ उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीले बुधबार आमा समूहको भवन, खानेपानी र मोटरमार्गको उद्घाटन गर्नुभएको हो ।
रासीभञ्ज्याङ आमा समूहको भवन रु ६ लाखको लागतमा सम्पन्न भएको हो । खानेपानी योजना रु पाँच लाख र मोटरमार्ग रु दुई लाखको लागतमा सम्पन्न गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । खानेपानी योजनाबाट २४ घरधुरीमा धारा जडान गरिएको छ ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले विकास निर्माण अभियानमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रमुख मीरा जोशीले रासीभञ्ज्याङमा खानेपानी, मोटरमार्ग, विद्युत पुगिसकेकाले अब आम्दानीको स्रोत पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।
रासीभञ्ज्याङ आमा समूहकी अध्यक्ष देवीमाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोला, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, वडा नं १३ का अध्यक्ष लेखबहादुर राना, वडा नं १ का अध्यक्ष खरसिं दरै, नेपाल तरुण दल व्यास नगर कार्यवाहक सभापति जीवनचन्द ठकुरी, वाराही युवा क्लवका अध्यक्ष ख्रष्टिराम थापा, सचिव दलबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।