ऋषिङमा भूमि आयोगको तथ्याङ्क सङ्कलन इकाई उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा भूमि आयोगको तथ्याङ्क सङ्कलन इकाई उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाका भूमि सम्बन्धी समस्या पहिचानका लागि तथ्याङ्क सङ्कलन इकाई उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको उक्त इकाईको उद्घाटन गर्नुभयो ।

    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले वास्तविक सुकुम्बासीले भूमि पाउनुपर्ने जोड दिँदै अहिलेको आयोगले त्यस्ता भूमिहिनको सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।

    भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले वास्तविक भूमिहिनलाई जग्गाको मालिक बनाइने बताउनुभयो । आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जिल्लाका सबै पालिकाहरुमा भूमिहिन पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका सबै वडामा सङ्कलनकर्ता खटाएर भूमिहिनको विवरण सङ्कलन गरिएको बताउनुभयो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहमार्फत् घरदैलोमा खटिएका लागत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।

    ऋषिङ गाउँपालिकामा सोमबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीका लागि तथ्याङ्क सङ्कलन कार्यालय उद्घाटन गरिएपछि जिल्लाका दशवटै स्थानीय तहमा भूमिहिन पहिचानका लागि काम शुरु भएको हो । अन्य सबै स्थानीय तहमा यसअगाडी नै तथ्याङ्क सङ्कलन कार्यालय स्थापना गरेर काम भइरहेको छ ।

    जिल्लाको व्यास र शुक्लागण्डकी नगरपालिकाले भूमिहिनको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरिसकेको छ भने अन्य स्थानीय तहमा काम भइरहेको बताइएको छ । व्यास नगरपालिकामा ६ हजार आठ सय ७२ जनाको तथ्याङ्क सङ्कलन भएको छ । नगरपािलकाका १४ वडामा सात सय ३० भूमिहिन दलित, चार सय ९७ भूमिहिन सुकुम्बासी र छ हजार एक सय ४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक इकाईका प्रमुख विमल गिरीले जानकारी दिनुभयो ।

    शुक्लागण्डकी नगरपालिकाले चार हजार चार सय ४२ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरेको छ । दुई सय ७९ भूमिहिन दलित, तीन सय ४१ भूमिहिन सुकुम्बासी र तीन हजार आठ सय २२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १२ वडामा तथ्याङ्क सङ्कलनका लागि २९ जना गणक परिचालन गरिएको थियो ।