तनहुँ : बन्दीपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालित नमुना ग्रिड एण्ड क्रसर उद्योग अवैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गराएको उद्योग हो । प्रशासनले क्रसर बन्द गराएको महिनौ भयो । तर, त्यहाँबाट अवैध रुपमा ढुङ्गा गिटी बालुवा ओसारपसार निरन्तर भइरहन्छ ।
सोमबार पनि उद्योगबाट ढुङ्गा, गिटी, बालुवा ओसारपोसार हँुदै थियो । सुराकी पाएको तनहुँ प्रहरी पुगेर ओसारपसारमा संग्लन टिप्परलाई नियन्त्रणमा लिएको छ । सात वटा टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिनुभयो । उहाँका अनुसार ग १ क ४३०७, ग १ क ४३३०, ग १ ख ७९९७, ग १ ख ९२५३, ग १ क ४१७६, ग १ ख ७८४७ र ग १ क ४२८२ नम्बरका टिप्पर नियन्त्रणमा लिईएको हो ।
व्यास नगरपालिका–१३ सुडेबाट दमौलीतर्फ आउँदै गरेका टिप्पर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको टिप्पर कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालयमा पठाइएकामा गाउँपालिकाले सात वटा टिप्परबाट रु ५२ हजार जरीवाना असुलेको छ ।
प्रशासनले बन्द गराएको उक्त क्रसर उद्योग सिल भने गरिएको छैन । तसर्थ बेलाबखतमा उद्योगबाट बालुवा, ढुङ्गा, गिटी ओसारपसार हुँदै आइरहेको छ । ‘क्रसर बन्द गराईएपनि सिल भएको छैन, रातारात माल ओसारपोसार हुने गरेको सूचना आएको छ,’ प्रहरी नायव उपरिक्षक तिम्लिसिनाले भन्नुभयो ।
साङ्केतिक तस्वीर