तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्न लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित भएको छ । कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको सन्दर्भमा कोरोना सङ्क्रमणलाई फैलन नदिन गाउँपालिकाले रनिङशिल्ड प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।
चैत २०, २१ र २२ गते सञ्चालन हुने भनिएको प्रतियोगिता अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणलाई थप फैलन नदिई सावधानी अपनाउन र सचेत रहनका लागि गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।
गाउँपालिकाले फागुपूर्णिमाको अवसरमा सामूहिक भेला, भीडभाड नगर्न, स्वास्थ्य संस्था र कार्यालयमा सेवा लिँदा अनिवार्य रुपमा मास्क र स्यानीटाइजर प्रयोग गर्न, जात्रा, मेला, महोत्सव, कन्सर्ट जस्ता भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।