छिम्केश्वरीमा एकैदिन ११ हजार भन्दा बढी भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरीमा एकैदिन ११ हजार भन्दा बढी भक्तजन

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँकाे सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा आइतबार भक्तजनको ठूलो भीड लागेको छ । प्रत्येक वर्षको फागुपूर्णिमाको अवसरमा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    मन्दिरमा दर्शनका लागि तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन पनि छिम्केश्वरी पुगेका छन् । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वास सहित भक्तजनहरु आउने गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरज श्रेष्ठले आइतबार मात्रै छिम्केश्वरीमा ११ हजार भन्दा बढी भक्तजन पुगेको जानकारी दिनुभयो । “छिम्केश्वरीमा बिहानैदेखि भक्तजनको भीड लाग्यो, मन्दिर दर्शनका लागि पनि एक घण्टा भन्दा बढी लाइनमा बस्नुपर्ने स्थिति थियो,” श्रेष्ठले भन्नुभयो ।

    होलीमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी अवस्थित छ । मन्दिरका पुजारी धनराज गुरुङका अनुसार एकादशी र औंशी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बली दिने परम्परा पनि रहेको छ ।

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

    छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा यही वैशाखबाट कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माणको कामलाई तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँले जनाएको छ । उक्त सडकखण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै वित्तीय प्रगति ५२ प्रतिशत छ । कूल १६ किमि सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु ८ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।

    आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुननिर्माण पनि गरिरहेको छ । छिम्केश्वरी डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।