तनहुँ : व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत विद्यार्थीको साझा संस्था एविआइटीको अध्यक्षमा विकल श्रेष्ठ चयन हुनुभएको छ ।
सोमबार सम्पन्न क्लवको चौथो अधिवेशनबाट चौथो सेमेष्टरमा अध्ययनरत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा विशाल रुचाल, सचिवमा विजय आले मगर, कोषाध्यक्षमा सुजाता भण्डारी, सहसचिवमा अस्मिता पौडेल, प्रवक्तामा आशिक श्रेष्ठ र सदस्यहरुमा सुजन पन्थ, पुजा बसौला, युजीन थापा, कुमार थापा, गौतम कुमाल, निता आले, रोशन सुनार र नेहा शाही चयन हुनुभएको छ ।
अधिवेशनको कम्प्युटर एशोसिएसन नेपाल (क्यान) तनहुँ शाखाका अध्यक्ष टिकाराम पनेरुले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै पनेरुले कम्प्युटर एसोसिएसन नेपाल र एविआइटि क्लवबीच विगतमा जस्तै सूचना प्रविधिको क्षेत्रमा कार्य सहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सूचना र प्रविधिको क्षेत्रमा क्लवका विद्यार्थीहरुले क्याम्पसभित्र र समुदायमा धेरै कार्यहरु गर्दै आएकामा धन्यवाद दिनुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, सूचना तथा सञ्चार प्रविधि विषय समितिका संयोजक सुलभ कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।