व्यासले हप्ताको दुई दिन स्वाब सङ्कलन गर्ने, वडा र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्रै खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले हप्ताको दुई दिन स्वाब सङ्कलन गर्ने, वडा र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्रै खुल्ने

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    दमाैली : यस अगाडी हप्ताको एक दिन मात्रै स्वाब सङ्कलन गर्दै आएको व्यास नगरपालिकाले अब हप्ताको दुई दिन स्वाब सङ्कलनको व्यवस्था मिलाउने भएको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण वृद्धि हुँदै गएपछि नगरपालिकाले हप्ताको दुई दिन स्वाब सङ्कलन गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अब सोमबार र बिहीबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिनेछ । यसअघि नगरपालिकाले सोमबार मात्रै स्वाब सङ्कलन गर्दै आएको थियो ।

    बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको वडा कार्यालय र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्र खुल्ला राख्ने, वडाको संयोजनमा गर्भवती र जटिल बिरामीहरुलाई घरबाट अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने र कृषि उपजहरुलाई बजार ल्याउनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दल, टोल विकास संस्था, शैक्षिक तथा उद्योग व्यवसाय क्षेत्र, जनप्रतिनिधि, विकास साझेदार सङ्घ संस्था कार्यालय, सुरक्षा संयन्त्र, सञ्चार क्षेत्र, बैङ्क तथा वित्तीय संस्था र सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरुमा विद्यमान सङ्कटको क्षणमा स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दुरी कायम गर्दै आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न र परस्पर सहयोग एवं सद्भावपूर्ण सहयोगका लागि अनुरोध गरेको छ ।

    विभिन्न कार्यविधि पारित

    बैठकले नगरपालिका प्रशासनिक कार्यविधि ऐन, २०७५ को आधार लिई विभिन्न कार्यविधि पारित गरेको छ । जसअनुसार व्यास नगर प्रज्ञा प्रतिष्ठान सञ्चालन कार्यविधि, २०७८ (भाषा, साहित्य, संस्कृति, कला संरक्षण प्रबर्द्धन सम्बन्धी), व्यास नगरपालिका प्राकृतिक स्रोतको व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ (प्राकृतिक स्रोत परिचालन, व्यवस्थापन, आय बाडँफाँड सम्बन्धी) र व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ (वैदेशिक रोजगारमा जाने आउनेहरुको सुरक्षित व्यवस्थापन, रोजगार प्रबर्द्धन सम्बन्धी) कार्यविधि पारित भएको छ ।