देवघाट : देवघाटमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई,सफा पानी सबैलाई” भन्ने मूल नाराका साथ देवघाट गाउँपालिकाको सिटी हल परिसरमा १२ प्रजातिका बिरुवा रोपण गरिएको छ ।
म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक, तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगायतका दुई सय बिरुवा रोपिएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताउनुभयो । देवघाट गाउँपालिकाभित्र पनि थुप्रै चुरे क्षेत्रहरू रहेकोले सो चुरे क्षेत्रको संरक्षणमा सबै देवघाटवासी लाग्नुपर्नेमा थापाले जोड दिनुभयो ।
देवघाट गाउँपालिका प्रवक्ता एवं वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्दै बिरुवा रोपेर मात्र नभई रोपिसकेका बिरूवाहरूलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।