युरो कप : फ्रान्स र पोर्चुगलको हेभिवेट भिडन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युरो कप : फ्रान्स र पोर्चुगलको हेभिवेट भिडन्त

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, बुधबार

    एजेन्सी : युरो कप अन्तर्गत बुधबार दुई बलिया टोली विश्वकप विजेता फ्रान्स र साविक युरो कप विजेता पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् । खेल हंगेरीको बुडापेस्टमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

    ह्युगो लोरिसको कप्तानीमा मैदान उत्रिने फ्रान्स पोर्चुगललाई हराउँदै समूह ‘एफ’ को शीर्ष स्थानमा कायम रहने प्रयासमा हुनेछ । अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्स दुई खेलमा समान १ जित र बराबरीको नतिजासहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।
     
    क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रिने पोर्चुगल पनि फ्रान्सलाई हराउँदै नक आउट चरणमा पुग्ने सोचमा हुनेछ । तर फ्रान्सलाई हराउन त्यति सहज भने हुने छैन ।

    बराबरीले पनि उ अघिल्लो चरणमा पुग्ने छ । तर हारले भने अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । पोर्चुगल २ खेलमा समान १ जित र हारको नतिजासहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।

    फ्रान्स र पोर्चुगलले हालसम्म २७ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा फ्रान्सले १९, पोर्चुगलले ६ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

    यी दुईले पहिलोपटक सन् १९२६ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा फ्रान्स ४-२ ले विजयी भएको थियो ।

    युइएफए नेसन्स लिग अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा फ्रान्स १-० ले विजयी भएको थियो । इतिहासमा फ्रान्स बलियो देखिए पनि स्टार खेलाडीले भरिएका दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।