दमाैली : तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापना गरिएको पिसिआर प्रयोगशालाका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टे«लियाको तर्फबाट रु चार लाख सहयोग गरिएको छ ।
व्यास–१० दुम्सीबजार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा निर्माणाधीन प्रयोगशालाका लागि समाजको तर्फबाट रु चार लाख नगद सहयोग प्राप्त भएको हो । प्रयोगशालाका लागि तनहुँ समाज हङकङबाट रु दुई लाख र तनहुँ समाज अष्ट्रेलियाबाट रु दुई लाख सहयोग प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ ।
हङकङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम सङ्कलन गरिएको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो । यस्तै अष्ट्रेलिया स्थित समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सूर्य खनाल र किरण खनाल लगायतको पहलमा उक्त रकम सङ्कलन गरिएको छ ।
तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई आइतबार सहयोग रकम हस्तान्तरण गर्नुभएको हो भने तनहुँ समाज अष्टे«लियाको तर्फबाट सत्यप्रसाद खनालले न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लावासीलाई सुरक्षित गर्ने अभियानमा तनहुँका दश वटै स्थानीय तह सकृय रहेको उल्लेख गर्दै सोही अनुरुप पिसिआर प्रयोगशाला स्थापना गर्ने अभियान अगाडि बढेको बताउनुभयो । विदेशको भूमिमा मिहीनेत गरेर त्यसको प्रतिफललाई आफ्नो जन्मभूमिमा सहयोग गरेर हङकङ र अष्ट्रेलियाको तनहुँ समाजले प्रशंशनीय कार्य गरेको न्यौपानेले उल्लेख गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष गुरुङले समाजले विगत एक दशकदेखि जिल्लाका सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।
जिल्लाभर सङ्क्रमण बढिरहेको र पिसिआर परीक्षणको नतिजा ढिलो गरी प्राप्त भएको अवस्थामा जिल्लाभित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रयोगशाला स्थापना गर्न लागिएको हो । यसैबीच पिसिआर प्रयोगशालाका लागि समाजका पूर्व अध्यक्ष गुरुङले व्यक्तिगत रु १५ हजार समेत सहयोग गर्नुभएको छ ।