दमाैली : व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनका लागि ऋण सम्झौता भएको छ । नगरपालिका र नगर विकास कोषबीच साेमबार ऋण सम्झौतामा हस्ताक्षर भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगरप्रमुख वैकुण्ठ न्यौपानेबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा नगरपालिकाका तर्फबाट वरिष्ठ इन्जिनियर डा. राजु पौडेल, इन्जिनियर रविन्द्रलाल मूलको सहभागिता रहेको थियो ।
भवन निर्माणका लागि नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी रहनेछ । कूल रु २८ करोड ८५ लाख ४४ हजारमा निर्माण हुने बहुउद्देश्यीय भवनका लागि नगर विकास कोषले रु २० करोड १९ लाख ८९ हजार आठ सय ऋण उपलब्ध गराउनेछ भने नगरपालिकाले रु आठ करोड ६५ लाख ६३ हजार दुई सय बेहोर्ने गरी सम्झौता भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।
दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माण पश्चात् व्यवस्थित बजारीकरण तथा नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । बहुउद्देश्यीय भवन हाल नगरपालिका रहेको भवन भन्दा ठूलो बन्नेछ ।
व्यास नगरपालिका हाताभित्र रहेको पुरानो भवन भत्काएर सोही ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएकाे हाे । उक्त पुरानो भवनमा यस अगाडी नगरपालिकाको मुख्य प्रशासनिक कार्य सञ्चालन हुने गरेको थियो । पछि नयाँ भवन निर्माण भएपछि हाल उक्त पुरानो भवनमा शिक्षा, पशु र स्वास्थ्य शाखा सञ्चालनमा छ ।
व्यास नगरपालिकाले तीन वर्ष अगाडी निर्माण सम्पन्न भएको बहुउद्देश्यीय भवनबाट सेवा प्रवाह गरिरहेको छ । उक्त भवन नगरपालिकाले कार्यालय सञ्चालनका साथसाथै व्यावसायिक प्रयोजननका लागि भाडामा लगाएको छ । नगरपालिकाले उक्त भवन व्यावसायिक पसल र दुई वटा बैङ्कलाई भाडामा लगाएको छ । उक्त भवनबाट नगरपालिकालाई वार्षिक रु डेड करोड भन्दा बढी आम्दानी हुन्छ । उक्त भवनमा नगरपालिकाले लिफ्ट समेत सञ्चालन गरेको छ ।
सो भवन निर्माणका लागि पनि नगर विकास कोषले ऋण उपलब्ध गराएको थियो । भवन निर्माणका लागि नगर विकास कोषले रु छ करोड ९४ लाख ४९ हजार चार सय ५.५ प्रतिशत सरल ऋणमा र रु तीन करोड २९ लाख ५८ हजार आठ प्रतिशत ऋणमा उपलब्ध गराएको थियो । त्यसमा नेपाल सरकारले रु ८५ लाख ३३ हजार नौ सय ५० अनुदान दिएको थियो भने रु २८ लाख ४४ हजार छ सय ५० व्यास नगरपालिकाको रहेको छ ।