


तनहुँ : सरकारले कालीगण्डकी डाइभर्सन परियोजना सञ्चालन गर्न लागेपछि तनहुँका राजनीतिक दलले विरोध जनाएका छन् । तनहुँ जिल्लामा क्रियाशील राजनीतिक दलको मङ्गलबार बसेको संयुक्त बैठकले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजनाको विरोध गरेको हो ।
सरोकारवालाहरुसँग आवश्यक छलफल र परामर्श नगरी सञ्चालन गर्न खोजिएको कार्य कालीगण्डकी जलप्रवाहमा आधारित प्राचीन मानव सभ्यता, सनातन धार्मिक एवं सांस्कृतिक मान्यताको खिलाप रहेको ती दलको ठहर छ । शालिग्राम पाइने एकमा नदीको बहाव नै परिवर्तन गरी तनहुँ सहित स्याङ्जा, पाल्पा, नवलपरासी जिल्लालाई सुख्खा मरुभूमिमा परिणत गर्ने गरी गलत मनसायबाट प्रेरित रहेको उनीहरुको आरोप छ ।
प्राकृतिक स्रोत, साधन, सम्पदाहरुमाथिको अधिकार र लाभको बाँडफाँड गर्नुपर्ने अनिवार्यतालाई लत्याउँदै फरक जिल्ला र बस्तीका जनसमुदायबीच द्वन्द्व चर्काउने कार्य रहेको ती दलको आरोप छ ।
नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोला, नेकपा माओवादी केन्द्रका सचिव राजेन्द्रकेशरी न्यौपाने, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्णराज घिमिरे र जनमोर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा सङ्घीय सरकारले उक्त कार्य फिर्ता लिन माग गरिएको छ ।