दुलेगाैडा : अविरल वर्षाले तनहुँमा वितण्डा मच्याएको छ । विभिन्न स्थानमा बाढीपहिरो गएको छ । ठूलो धनजनको क्षति भएको छ । जिल्लाभर २ जनाको मृत्यु र सात जना घाइते भएका छन् । केही घर पहिरोले पुरेको छ । सयौँ घर पहिरोको जोखिममा छन् ।
तनहुँको पाँच स्थानमा गरिएको मौसम मापनमा खैरेनीटारमा सबभन्दा धेरै बर्षा भएको देखिन्छ । जल तथा मौसम विभागका सहायक मौसम विज्ञ सरोज अधिकारीले दिनुभएको जानकारी अनुसार खैरेनीटारमा १९०.५ मिलिलिटर वर्षा भएको छ । यो पछिल्लो २४ घण्टाको रेकर्ड हो ।
मुग्लिनको साँखरमा १६५.६ मिलिलिटर, बन्दीपुरमा १५०.३ मिलिलिटर, श्याम्घामा ९९ मिलिलिटर वर्षा मापन गरिएको छ । दमौलीमा रहेको मापन केन्द्रले पछिल्लो २४ घण्टामा ७७ मिलिलिटर वर्षा भएको रेकर्ड गरेको अधिकारीले जानकारी दिनुभयो । ५० मिलिलिटर भन्दा माथि वर्षालाई खतरा मान्नुपर्ने उहाँले बताउनुभयो । ‘‘तनहुँमा भारी वर्षा चाँही भएको छ । तर, अहिलेसम्मका कुनैपनि रेकर्ड ब्रेक भएको छैन्,” उहाँले भन्नुभयो ।
गत वर्ष श्याम्घा मापन केन्द्रमा झन्डै २०० मिलिलिटर मापन भएको थियो । यो पछिल्ला वर्ष तनहुँमा भएको सबैभन्दा भारी वर्षाको मापन हो । अधिकांश स्थानमा वर्षा भएकाले खोलाको बहाव बढेको उहाँले बताउनुभयो । तनहुँको बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा भारी वर्षा भएको देखिन्छ । यहाँको स्थानीयले बाढी, पहिरो र डुबानको सामना गर्नुपरेको छ ।
शनिबारसम्म वर्षा नरोकिने मौसमविद् राजु प्रधाङ्गले जानकारी दिनुभयो । “मनसुन अहिले सक्रिय अवस्थामा छ । मनुसुनको न्युन चापीय रेखा नेपाल नजिकै छ,” उहाँले भन्नुभयो । यसैको प्रभावले गण्डकी र लुम्बिनीको पूर्वी पहाडी भूभाग, बाग्मती, प्रदेश १ र प्रदेश २ बढी प्रभावित हुने उहाँले बताउनुभयो ।