तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविरल वर्षापछि बाढी पहिरोका कारण तनहुँ लगायत जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शुक्रबार बिहान प्रेसविज्ञप्ती जारी गर्दै मुख्यमन्त्री पोखरेलले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रदेश सरकारले उद्धार र राहतको काम गर्दै आएको र यसका लागि रकम अभाव नहुने बताउनुभयो ।
“तनहुँमा बाढी पहिरोले दुई जनाको मृत्यु भएको छ, कतिपय ठाउँमा घाइते भएको खबर प्राप्त भएको छ, उद्धार र राहतका लागि स्थानीय प्रशासन जुटिरहेको छ,” मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “विस्थापितलाई तत्कालका लागि अस्थायी वास र स्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरणका लागि समेत सरकारले प्रबन्ध गर्छ ।”
तनहुँ लगायत जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उहाँले तनहुँका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको, पुल बगाएको खबर आएकाले क्षतिको मूल्याङ्कनका लागि लागि प्रदेशबाट टोली समेत खटिएको बताउनुभयो । पुल बगाएको ठाउँमा वैकल्पिक व्यवस्थाका लागि पहल समेत भइरहेको उहाँको भनाई छ ।
जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका बासिन्दालाई वर्षाको बेला अलि चनाखो भएर रहन आग्रह गर्दै उहाँले स्थानीय प्रशासन र स्थानीय सरकारलाई समेत यसमा सहजीकरण गर्न अनुरोध गर्नुभयो ।
प्रदेश सरकारले यसअघि नै मनाङ र मुस्ताङका लागि दुई÷दुई लाख र अन्य ९ जिल्लाका लागि रु दश÷दश लाख उपलब्ध गराइसकेको छ । तत्कालका राहत र उद्धारका लागि उक्त रकम अपुग भएमा प्रदेश विपद कोषले तत्काल रकम उपलब्ध गराउँछ ।
अहिले जिल्लाहरुमा तारजालीको अभाव भएकाले प्रदेश सरकारले तारजाली खरिदका लागि रकम व्यवस्था गर्न लागेको छ । मुख्यमन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयलाई यसबारेमा निर्देशनसमेत दिइसक्नुभएको । मुख्य र सहायक राजमार्गमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएकामा सकिने ठाउँमा तत्काल डोजर र एस्काभेटर लगेर बाटो खुलाउन पनि उहाँले निर्देशन दिनुभयो ।