दमाैली : इन्सेक गन्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघ
तनहुँकाे संयुक्त आयोजनामा शनिबार दमौलीमा कोभिडले पत्रकारहरुमा परेको असर विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएकाे छ । कोभिड–१९ (कोरोना भाईरस) को महामारीले पत्रकार, सन्चारकर्मी, सन्चार माध्यम र मानवअधिकार रक्षकहरुमा परेको असरको बारेमा अन्तरक्रिया गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेश कार्यालय पोखराका निर्देशक चन्द्रकान्त चापागाईले कोभिड १९ ले अन्य क्षेत्रमा जस्तै पत्रकार र मानवअधिकार रक्षकलाई पनि ठूलाे असर गरेको बताउनुभयाे । उहाँले कोभिडको असरको कारण धेरै पत्रकारहरुले रोजगारी गुमाएको, आर्थिक संकटले सञ्चार माध्यम बन्द भएको, पत्रपत्रिकाको वितरण प्रक्रिया अवरुद्ध भएको जस्ता समस्या भएको बताउनुभयाे । मानवअधिकार रक्षकहरु यो महामारीबाट निकै पीडित भएको उहाँको भनाई थियो । समग्रमा नागरिकका आधारभुत अधिकारहरु यो महामारीको कारण हनन भएको चापागाईले बताउनुभयाे ।
इन्सेक गन्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले कोभिड १९ को प्रकोपबाट भएको महामारीले मानवअधिकार र सन्चार क्षेत्रमा ठुलो असर परेको बताउनुभयाे । नागरिकको अधिकार रक्षाकोलागि अग्रपंक्तिमा रहेर खट्ने मानवअधिकारकर्मी, पत्रकार, स्वास्थ्यकर्मीहरु महामारीको चपेटामा र जोखिममा परेको उहाँले बताउनुभयाे । निषेधाज्ञाको क्रममा सन्चारकर्मी र मानवअधिकार रक्षकहरु माथि पनि ज्यादतीका घटना भएको भन्दै उनले मानवअधिकार रक्षाकोलागि पत्रकार र मानवअधिकारकर्मीहरु सहकार्य गरेर जानु पर्नेमा जोड दिनुभयाे ।
सो कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेश कार्यालय पोखराका निर्देशक चन्द्रकान्त चापागाईले ‘मानवअधिकार रक्षक र उनीका चुनौती’, इन्सेक प्रदेश संयोजक शिव खकुरेलले ‘कोभिड १९ ले सन्चार र मानवअधिकार रक्षकमा पारेको प्रभाव’ विषयमा इन्सेकले तयार गरेको अनुसन्धान प्रतिबेदनर नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले ‘कोभिडले सन्चार क्षेत्रमा पारेको प्रभाव’कोबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा, इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, आदिवासी जनजाती महासंघ तनहँुकी अध्यक्ष बसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी कल्पना पौडेलले कोभिड १९ को कारण भएको प्रभाव र असरको बारेमा चर्चा गर्नुभएकाे थियाे ।