सम्वन्धित निकाय मुकदर्शक बनेको आरोप
दमाैली : व्यास नगरपालिका–१२ हँुदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि सुचारु नगरिँदा स्थानीय मारमा परेका छन् । गत असार १७ गते परेको अविरल वर्षाले अवरुद्ध भएको बाटो हालसम्म पनि नखोलिँदा स्थानीयवासी मारेमा परेका हुन् ।
बाटो अवरुद्ध हुँदा उक्त मार्ग हुँदै पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका वासिन्दालाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए ।
बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाई भएको छ । लामो समय हुँदासम्म पनि बाटो नखोल्दा स्थानीय जनताहरु आक्रोशित बनेका छन् ।
भानु–५ का वडाध्यक्ष प्रकाश मल्ले आफ्नो क्षेत्रमा भने सवारी साधनमा अवरोध नभएको बताए । छिर्कनेदेखि पीपलथोकसम्म व्यास–१२ को क्षेत्र भएकाले आफूले सो क्षेत्रमा केही पनि गर्न नसकेको उनले बताए । “मुख्य अवरोध भनेको व्यासको वडा नं १२ मा नै हो । भानु ५ को मोटरमार्गमा पर्ने बाटोको अवरोध हटाईसकेका छौ,” उनले भने, “त्यो बाटोको विकल्पमा हामीले नागनागिना हँुदै मैवल अनि नावरुङ जान सकिन्छ ।”
व्यास–१२ का वडाध्यक्ष तोत्र बहादुर कुवँरले आफ्नो वडाको क्षेत्र भएतापनि त्यहाँ ठेक्का लागिसकेको हुँदा केही गर्न नसकेको बताए । प्रदेश सरकारले उक्त बाटोको स्तरोन्नति गरि बाटो मर्मत गरेको थियो । त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने उनले बताए । “वडा आफ्नो भएतापनि बाटो समितिले काम गरेको र त्यो ठेकेदारलाई सम्पर्क गर्ने प्रयास गरेको छु” उनले भने ।
बाटो जस्तो अत्यावश्क विषयमा पनि वडा र नगरपालिकाले राजनीति गरेको स्थानीय रामबहादुर अधिकारीले आरोप लगाए । “भानुको वडा कार्यालयमा भन्दा क्षेत्राधिकार पर्दैन भन्छ, व्यास १२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्छ । ठेकेदार सम्पर्क विहिन छ,” उनले भने, “नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनीति भयो,” स्थानीय शिव शाहीले भने ।
बाटो जस्तो विषयमा यति लामो समय हुँदा पनि सम्बन्धित निकाय मौन बस्नु लज्जास्पद भएको स्थानीय अगुवा मधु पण्डितले बताए । “बाटो अवरुद्ध हुँदा स्वास्थ्य, शिक्षामा प्रत्यक्ष असर परेको छ । यसमा जिम्मेवारी बन्नुपर्दैन ?,” उनले भने ।
छिर्कने बजारको पीपलथोकदेखि डाँडाथोकसम्म करिब ८ किलोमिटर रहेको भगवती रंगपथ मोटरमार्गमा छिर्कनेदेखि पीपलथोकसम्म करिव एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घर समेत जोखिम भएको छ । यस विषयमा समेत सम्बन्धित निकायले कुनै समन्वय नगरेको विष्णुमाया ढकालले बताइन् ।