ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले गत असारमा आएको बाढीपहिराले क्षति भएका घर स्थानानान्तरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले बाढीपहिराले क्षति भएका ३४ घर स्थानानान्तरण गर्ने गरेको हो ।
बाढीपहिराले घर भत्किएका परिवार अहिले छिमेकीको शरणमा बस्दै आएका छन् । घर पुनर्निर्माण नभएसम्म सुरक्षित ठाउँमा सार्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनले बाढीपहिराले पीडित भएकाहरुलाई राहत वितरण गर्ने निर्णय समेत बैठकले गरेको बताए ।
बैठकले सबै वडामा उपभोक्ता समिति गठन गर्ने निर्णय गर्नुका साथै भदौ २५ देखि ३० गतेसम्म उपभोक्ता समितिलाई तालिम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकामा सुरक्षागार्डमा कार्यरत खुमबहादुर थापाको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाले तत्काल एक जनालाई सुरक्षागार्डको रुपमा नियुक्त गर्ने भएको छ ।