ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएको छ । गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न विद्यालय खोल्न निर्देशन दिएको छ ।
गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, स्यानीटाइजर जस्ता स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ ।
एक बेन्चमा बढीमा दुई जना विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ जना भन्दा बढी विद्यार्थी भएमा आवश्यकता अनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाई सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।
जिल्लामा निषेधाज्ञा कायमै रहेको र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय बिना विद्यालय खोल्न नपाइने भएपछि स्थानीय तहले आफूखुशी विद्यालय सञ्चालनको निर्णय गर्न थालेका छन् । व्यासमा पनि आइतबारदेखि विद्यालय खुल्दैछ ।