पोखरा : स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजनिक गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजनिक गरेका हुन् ।
समग्र स्थानीय विषयवस्तुसहित आधारभूत तहका सबै कक्षामा पूर्ण पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने भीरकोट नेपालकै पहिलो नगरपालिका बनेको छ । यो पाठ्यक्रम र पाठ्यपुस्तक समग्र भीरकोटको महत्वपूर्ण दस्तावेज बनेर भीरकोटको सग्लो चित्र उतार्न सफल रहेको छ ।
यस पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको सम्पूर्ण जिम्मेवारी साभ नेपालले बहन गरेको छ । कार्यक्रममा सफलतापूर्वक पाठ्यक्रम र पाठ्यपुस्तक लेखनको जिम्मेवारी बहन गरेकामा साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभासलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगिताका पुरस्कृत बालबालिकाहरुलाई पुरस्कृत गर्नुका साथै विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । सो अवसरमा कवि कमल कोइरालाले रचना गरेको भीरकोट गान पनि वाचन भएको थियो भने कमल कोइरालालाई सम्मान पनि गरिएको थियो ।
भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बाबुआमा नभएका अनाथ बालबालिकालाई अबदेखि प्रतिमहिना रु एक हजार छात्रवृत्ति प्रदान गर्ने महत्वपूर्ण घोषणा गर्नुका साथै बालबालिकाका हितमा नगरपालिका जस्तोसुकै लगानी गर्न पनि तत्पर रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख सीमा कर्माचार्य, डा. तुलसी प्रभास, गोविन्द कर्माचार्य, प्रमुख पूशासकीय अधिकृत खुमलाल भुषाल, लक्ष्मी रेग्मी, याम प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
स्थानीय सरोकारवालाको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी निर्माण र कार्यान्वयन गर्न लागिएको हाम्रो भीरकोट नामक पाठ्यक्रम र पाठ्यपुस्तकमा भीरकोटको समग्र परिचय झल्किएको छ ।
यहाँको कृषि, पर्यटन, धार्मिक सम्पदा, संस्कृति, जातजाति, उद्यमशीलता, सरसफाइ लगायतका कुराहरुको अनुसन्धान गरी कक्षा १–८ सम्ममा १५० वटा पाठहरु तयार गरिएको छ । सबै पाठहरु विद्यार्थी केन्द्रित छन् ।
सबै पाठमा भीरकोटकै पाठअनुसारका स्थानीय तस्बीरहरु समावेश गरिएका छन् । केही प्रमुख पाठहरुका भिडियो सामग्री पनि तयार गरिएको छ । अभ्यासहरुका माध्यमबाट विद्यार्थीहरुमा खोज, अनुसन्धानको बानी विकास गर्ने लक्ष्य राखिएको छ ।
यस पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विभागका प्राध्यापकहरु, पाठ्यक्रम विकास केन्द्रका विज्ञहरु, अनुसन्धानकर्ताहरु, लेखक तथा साहित्यकारहरु लगायत स्थानीय विज्ञहरुको संलग्नता रहेको छ ।