दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ । कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैडाकोटस्थित सरस्वती डेरी उद्योग विरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यस्तै दश वटा मुद्दा अनुसन्धानको क्रममा रहेको पोखरेलले बताए ।
कार्यालयका चाडपर्वका अलवा अन्य समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्दै आएको छ । सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ । “खाद्य ऐन, २०३३ ले दिएको अधिकार अनुसार नियमित रुपमा कार्यक्षेत्रभित्रका जिल्लाहरुमा अनुगमन भइरहेको छ,” पोखरेलले भने ।
कार्यालयले अनुगमका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठि, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको छ । कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्य पदार्थहरुको सञ्चयन तथा विक्री वितरण नगर्न, बढी रङ्गिन, सडगलेका, झिङ्गा भन्केका फोहर अस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुल्ला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ विक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ ।
एक वर्षमा ८८ खाद्य नमूना सङ्कलन
कार्यालयले गत आर्थिक वर्ष ०७७÷७८ मा ८८ वटा खाद्य नमूनाहरुको सङ्कलन गरेको छ । ५१ वटा खाद्य उद्योगहरुको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो ।
तीन पटक चार ठाउँमा होटल रेष्टुरेण्ट सञ्चालकलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटल स्तरीकरण लोगो वितरण सम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी चौध पटक गरी कूल एक वटा विभिन्नस्तरका होटल, रेष्टुरेण्ट, मिठाई पसल, भोजनालय निरीक्षण गरिएको पोखरेलले जानकारी दिए ।
कार्यालयले विभिन्न खाद्य उद्योगहरुको अनुज्ञापत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवा स्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ ।
पाँच उद्योग विरुद्ध मुद्दा
कार्यालयले गत आर्थिक वर्षमा पाँच उद्योग विरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये दुई उद्योगविरुद्ध अदालतले जरीवानाको फैसला सुनाएको छ । आयशा अरमान पाउरोटी उद्योग र प्रिती पाउरोटी उद्योगलाई जिल्ला प्रशासन कार्यालयबाट जनही रु दश हजारको दरले जरीवाना गरेको थियो ।
माउण्टेन तनहुँ बेल तथा सामुदायिक फलफूल प्रशोधन उद्योग विरुद्ध तनहुँ जिल्ला अदालतमा, गुड टेष्ट सस प्रोडक्ट विरुद्ध तनहुँ जिल्ला अदालतमा र दिपसन फुड प्रोडक्सन विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता भएको छ ।
पाँच जिल्ला कायक्षेत्र, कर्मचारी छैनन्
पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा हाल जम्मा दुई जना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एक जना मात्रै कर्मचारी छन् । प्राविधिक सहायकको दुई दरवन्दी रहेपनि उक्त दरवन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाई हुँदै आएको पोखरेलले बताए ।
“कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,” पोखरेलले भने, “कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौ ।” विसं २०७५ कात्तिक १५ देखि भाडामा भवन लिएर कार्यालय सञ्चालन हुँदै आएको छ ।