म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु गुरुङ समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । म्याग्दे गाउँपालिका तथा विभिन्न दाताको सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको शनिबार गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।
विसं २०७४ सालमा स्थापना भएको समाजको भवन ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्थानीय समाजसेवी गङ्गाराम गुरुङ, आशमाया गुरुङ, धनसिं गुरुङ, उजेली गुरुङले उपलब्ध गराएको जग्गा र विभिन्न व्यक्तिले उपलब्ध गराएको रकमबाट भवन निर्माण गरिएको समाजकी अध्यक्ष आशादेवी गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् बेल्जियमका पूर्व केन्द्रीय सदस्य पदम गुरुङ, जग्गादाता गङ्गाराम गुरुङ, धनसिं गुरुङ, भवन निर्माण समितिका संयाेजक हिमाल गुरुङ, समाजका सचिव श्रीकृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।