


दमाैली । आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी बनेसँगै राजनीतिक माहोल तातिन थालेको छ । स्थानीय तहको पाँच वर्षे कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि निर्वाचित हुने हुँदा अब सबैको ध्यान त्यता सोझिएको छ ।
२०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट तनहुँमा नेपाली काङ्ग्रेसले छ स्थानीय तहको प्रमुख जित्यो । नेकपा एमालेले तीन स्थानीय तहमा प्रमुख जित्न सफल भयो । नेकपा माओवादीले एक स्थानीय तहको प्रमुख जित्यो ।
काङ्ग्रेसले व्यास नगरपालिका, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका प्रमुख, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको थियो । त्यस्तै काङ्ग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।
नेकपा एमालेले देवघाटमा अध्यक्ष, घिरिङमा अध्यक्ष, उपाध्यक्ष, शुक्लागण्डकीमा उपप्रमुख र भिमादमा प्रमुख, उपप्रमुख जितेको थियो । नेकपा माओवादी केन्द्रले बन्दीपुरको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो ।
दश वटै स्थानीय तहमा राजनीतिक दलको मतको अवस्था कस्तो थियो, त्यसबारे यहाँ चर्चा गरिएको छ ।
व्यास नगरपालिका
व्यास नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका वैकुण्ठ न्यौपाने १३०५६ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिद्वन्द्वी नेकपा एमालेका शङ्करनारायण श्रेष्ठले ९५९१ मत प्राप्त गरेका थिए । उपप्रमुख काङ्ग्रेसका मीरा जोशी १३२६० मत प्राप्त गरी विजयी भएकी थिइन् । प्रतिद्वन्द्वी नेकपा माओवादीका अतिन्द्रकेशरी न्यौपानेले ३४७७ मत प्राप्त गरेका थिए । व्यासमा नेकपा एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।
भिमाद नगरपालिका
भिमाद नगरपालिकाको प्रमुखमा एमालेका मेखबहादुर थापा ६४६४ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिद्वन्द्वी काङ्ग्रेसका पुष्प पराजुलीले ६०८० मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकी शारदा खनाल ६७१२ मत प्राप्त गरी विजयी भएकी थिइन् भने काङ्ग्रेसकी इन्दिरा खनालले ५७७५ मत प्राप्त गरेकी थिइन् ।
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका किसान गुरुङ ९४२४ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिद्वन्द्वी एमालेका रामचन्द्र उपाध्यायले ८७०५ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकी सविता रसाइली ८९८३ मत प्राप्त गरी विजयी भएकी थिइन् भने प्रतिद्वन्द्वी माओवादीकी सर्वदा खनालले ७४३६ मत प्राप्त गरेकी थिइन् । शुक्लागण्डकीमा काङ्ग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
भानु नगरपालिका
भानु नगरपालिकामा काङ्ग्रेसका उदयराज गौली ९५३८ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिद्वन्द्वी एमालेकी भगवती न्यौपानेले ९०६४ मत प्राप्त गरेकी थिइन् । उपप्रमुखमा काङ्ग्रेसका आशा थापा ९३१७ मत प्राप्त गरी विजयी भएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेका ऋषिराम पन्तले ८८७८ मत प्राप्त गरेका थिए ।
म्याग्दे गाउँपालिका
म्याग्दे गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसकी मायादेवी राना ४५६४ मत प्राप्त गरी विजयी भएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले ३५६४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा काङ्ग्रेसकै बालकृष्ण घिमिरे ४७१४ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले ३२६० मत प्राप्त गरेकी थिइन् ।
देवघाट गाउँपालिका
देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गबहादुर थापा २८७९ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिद्वन्द्वी काङ्ग्रेसका कर्णबहादुर गुरुङले २८१४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा काङ्ग्रेसकी विमला थापा २८६० मत प्राप्त गरी विजयी भएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेकी सावित्री न्यौपानेले २८५९ मत प्राप्त गरेकी थिइन् ।
घिरिङ गाउँपालिका
घिरिङ गाउँँपालिकाको अध्यक्षमा एमालेका रनबहादुर राना ३७३० मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी काङ्ग्रेसका विष्णुविर थापाले २८१९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकै सरस्वती सिग्देले ३७१३ मत प्राप्त गरी विजयी भएकी थिइन् भने काङग्रेसकी निर्जला अर्यालले २७६२ मत प्राप्त गरेकी थिइन् ।
आँबुखैरेनी गाउँपालिका
आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका गिरबहादुर थापा २५८९ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिद्वन्द्वी एमालेका शान्तबहादुर केसीले २२४२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि काङ्ग्रेसकै पुष्पादेवी श्रेष्ठ २२७९ मत प्राप्त गरी विजयी भएकी थिइन् भने एमालेकी मिना अधिकारीले २१६५ मत प्राप्त गरेकी थिइन् ।
ऋषिङ गाउँपालिका
ऋषिङ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ ४९४१ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका भूपाल थापाले २४८९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा काङ्ग्रेसकै गिनुमाया थापाले ५००६ मत ल्याउँदा एमालेकी मधुमाया श्रेष्ठले २३७७ मत प्राप्त गरेकी थिइन् ।
बन्दीपुर गाउँपालिका
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादीका पूर्णसिं थापा २८६३ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी काङ्ग्रेसका कर्ण खत्रीले २४२१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीकै करुणा गुरुङले २६८३ ल्याएर जित्दा काङ्ग्रेसकी सविना गुरुङले २४६२ मत ल्याएकी थिइन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।