दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बुद्धसिं मार्गको मङ्गलबार अवलोकन गरेका छन् । व्यास नगरपालिका–१ बेलवास हुँदै चितवनको घुमाउनेसम्म जोडिने उक्त मार्गको मुख्यमन्त्री पोख्रेलले अनुगमन गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले बुद्धसिं मार्गलाई वैकल्पिक मार्गको रुपमा विकास गरिने बताए ।। पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको यस मार्गमा भइरहेको ढिलासुस्तीबारे प्रदेश सरकार गम्भीर रहेको बताउँदै यसलाई सम्पन्न गराउन प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घीय सरकारबाट प्रदेश सरकार मातहत आएको बुद्धसिंह मार्ग विगत केही समयदेखि अलपत्र अवस्थामा छ । बजेट अभावका कारण उक्त मार्गको स्तरोन्नतिमा समस्या भएको छ । प्रदेश सरकारमा हस्तान्तरण भएको उक्त सडकका केही ठाउँमा नाला बनाउने बाहेक अन्य काम हुन सकेको छैन । सडक स्तरोन्नतिका लागि यस वर्ष रु ६ करोड बजेट विनियोजन भएको छ ।
उक्त सडक तनहँु सदरमुकाम दमौलीबाट मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेसम्म ३२ किमि दूरीमा पर्छ । जब की अहिले यात्रा गरिँदै आएको पृथ्वीराजमार्गको दमौली–मुग्लिङ सडक र मुग्लिङदेखि घुमाउनेसम्मको दूरी ५६ किमि छ ।
तनहुँ र चितवन जोड्ने उक्त मार्गको घुमाउनेमा गत वर्षदेखि पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघमा सम्झौता भएको पुल निर्माणको काम ढिला गरी सुरु भएको हो । एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाई रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने छ ।
पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरेपनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।