अभियाेगपत्र दर्तासँगै तनहुँ अदालतमा सुरु भयाे पल शाहको बयान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अभियाेगपत्र दर्तासँगै तनहुँ अदालतमा सुरु भयाे पल शाहको बयान

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७८, मंगलवार

    दमाैली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता भएसँगै उनको बयान सुरु गरिएको छ ।

    सरकारी वकिलको कार्यालयले आज दिउँसो १२ बजे अभियोगपत्र दर्ता गरेसँगै अदालतमा शाहको बयान लिन थालिएको हो । दिउँसो ३ बजेदेखि शाहको बयान सुरु भएको जिल्ला अदालत तनहुँले जनाएको छ ।

    नायक शाहको बयान सकिएपछि वादी र प्रतिवादीका तर्फबाट अदालतमा बहस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुनछेक आदेश हुने प्रावधान रहेको छ । थुनछेकमार्फत् शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाइन्छ । दुवै पक्षबाट बहस गर्ने वकिलको सङ्ख्या धेरै रहेकाले अदालतमा कम्तिमा एक सातासम्म बहस चल्ने बताइएको छ ।

    प्रहरीले अनुसन्धान सकाएर सोमबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले शाह विरुद्ध कैद सजाय माग सहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

    “पीडित १६ वर्ष कम भएका कारण शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद दावी सहित मुद्दा दर्ता गरेका छौ,” उनले खबरपुञ्ज डटकमसँग भने, “साथै मनासिव क्षतिपूर्तिको मागदावी गरेका छौ ।”

    साथै शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध सो सजायको आधा सजाय माग गरिएको छ । जोशीलाई मतियारका रुपमा शाहको भन्दा आधा सजाय मागदावी गरिएको शर्माले बताए ।

    गत फागुन ११ गते नाबालिगकले शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । सोही दिन प्रहरीले शाह विरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।

    शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।