आँबुखैरेनी । तनहुँकाे आँबुखैरेनी गाउँपालिकामा सञ्चालित वृहत याेग शिविर सम्पन्न भएकाे छ । आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा योग विज्ञान शिविर व्यवस्थापन समिति र पतञ्जली योग समितिको व्यवस्थापनमा चैत ३ गतेदेखि सुरु शिविर बुधबार सकिएकाे हाे ।
शिविरमा सर्वसाधारणकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालित शिविरमा दैनिक ६ सय भन्दा बढीकाे सहभागिता रहेकाे आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निराेज श्रेष्ठले जानकारी दिए । शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।
शिविरकाे बुधबार समापन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानिसलाई तन्दुरुस्त बनाउन भएकाले योगको महत्व रहेको बताए । “योग जीवनको अभिन्न अङ्ग, यसलाई नियमित रुपमा सञ्चालन गर्नुपर्छ,” उनले भने, “योग शिविर ठाउँ ठाउँमा सञ्चालन गरेर यसको महत्वको बारेमा उजागर गर्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले योगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउँदै योग भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । शारीरिक र मानसिक विकासका लागि योगको महत्व रहेको पौडेलको भनाई थियो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताए ।। उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिक रुपमा योग गर्नुपर्ने बताइन् ।